
कञ्चनपुर, फागुन २६-२८, २०६६। वी.पी. कोईराला मेमोरियल प्लानेटेरियम तथा अब्जरभेटरी र विज्ञान सङ्ग्रहालय विकास समितिद्वारा सिद्धनाथ विज्ञान क्याम्पस, महेन्द्रनगरमा खगोल विज्ञान तथा खगोल-भौतिक विज्ञान विषयक ४ दिवसीय सातौँ राष्ट्रिय स्कुलको आयोजना गरिएको थियो। उक्त कार्यक्रममा सिद्धनाथ विज्ञान क्याम्पस लगायत महेन्द्रनगर, धनगडी तथा सामीप्यका क्षेत्रका करिब ३० भन्दा बढी क्याम्पसका १०० जना भन्दा बढी विद्यार्थीहरूको सहभागिता रहेको थियो। उक्त स्कुलमा श्रोत व्यक्तिहरूका रुपमा प्रा.डा. उदयराज खनाल, सह-प्रा.डा. राजु खनाल, डा. सनत कुमार शर्मा र सरोज राज शाही रहनुभएको थियो। उक्त कार्यक्रममा विद्यार्थीहरूलाई रात्रीमा टेलिस्कोपको सहायताबाट प्रत्यक्षरुपमा आकाशीय पिण्डहरूको अवलोकन गराइएको थियो। सो कार्यक्रमको प्रमुख अतिथिको रुपमा विज्ञान तथा प्रविधि मन्त्रालयका सचिव डा. रामहरि अर्यालज्यू रहनुभएको थियो। उक्त समारोहमा वहाँले यस प्रकारका कार्यक्रमहरूलाई निरन्तरता दिने कुरा व्यक्त गर्नु भएको थियो।