
काठमाडौँ, जेठ ४-१०, २०६७।वी.पी. कोईराला मेमोरियल प्लानेटेरियम तथा अब्जरभेटरी र विज्ञान सङ्ग्रहालय विकास समितिद्वारा खगोल विज्ञान तथा खगोल-भौतिक विज्ञान विषयक ७ दिवसीय आठौँ राष्ट्रिय स्कुलको आयोजना गरिएको थियो। उक्त स्कुलमा ४० भन्दा बढी क्याम्पसका उ.मा.वि., आइ.एस्सी., बि.एस्सी. एवम् एम.एस्सी. तहका १२० जना भन्दा बढी शिक्षक एवम् विद्यार्थीहरूको सहभागिता रहेको थियो। सहभागि शिक्षक एवम् विद्यार्थीहरूलाई नगरकोट स्थित राष्ट्रिय बेधशालाबाट टेलिस्कोपको माध्यमले प्रत्यक्क्ष रुपमा अध्ययन अनुसन्धान पनि गराइएको थियो। सो स्कुलको समुद्घाटन समारोहमा प्रमुख अतिथि माननीय राज्यमन्त्री श्री इन्द्र प्रसाद डुङ्गेलज्यू रहनुभएको थियो। वहाँले मन्तव्य दिने क्रममा रुढीवादीबाट आक्रान्त हाम्रो जस्तो राष्ट्रमा विज्ञान तथा प्रविधिको सार्थक ज्ञानलाई जनमानसमा प्रवाहित नगरेसम्म विकासले मुर्तरुप लिन सक्दैन भन्ने तथ्यलाई मध्यनजरमा राख्दै यस प्रकारका कार्यक्रमहरूको आयोजना गरिरहेको हो र यस प्रकारका कार्यक्रमहरूले विद्यार्थी वर्गहरूमा यस क्षेत्र प्रति अभिरुची जगाई उनीहरूलाई यस क्षेत्रमा कार्यरत रहने हौसला प्रदान गर्ने कुरा व्यक्त गर्नुभएको थियो। साथै उहाँले राष्ट्रको विकासको पूर्वाधार नै दक्ष जनशक्ति भएकोले उच्च शिक्षामा अध्ययनरत शिक्षक एवम् विद्यार्थीहरूमा विश्वमा भइरहेका नवीनतम् ज्ञानलाई यस प्रकारका कार्यक्रमहरूद्वारा प्रवाह गर्नु अतीव जरुरी रहेको कुरा व्यक्त गर्नुभएको थियो।