
काठमाडौँ, चैत्र १५-२४, २०६४। खगोल विज्ञान एवम् खगोल भौतिक विज्ञानका आधारभूत ज्ञानहरू तथा विश्वमा यस क्षेत्रमा निरन्तर रुपमा भैरहेका नविनतम् ज्ञानलाई देशभरका शिक्षक एवम् विद्यार्थीहरूमा प्रवाह गर्ने उद्धेश्यले वी.पी. कोईराला मेमोरियल प्लानेटेरियम तथा अब्जरभेटरी र विज्ञान सङ्ग्रहालय विकास समितिद्वारा अन्तर्राष्ट्रिय खगोल विज्ञान संघको सहभागितामा खगोल विज्ञान तथा खगोल भौतिक विज्ञान सम्बन्धी अन्तर्राष्ट्रिय स्तरको स्कुलको आयोजना गरिएको थियो। उक्त १० दिवसीय स्कुलमा भौतिकशास्त्रमा स्नातकोत्तर गरेका विद्यार्थी एवम् शिक्षकहरूको सहभागिता रहेको थियो। सो स्कुलमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय गरि ३५ जना भन्दा बढी व्यक्तिहरूको सहभागिता रहेको थियो। उक्त स्कुलमा श्रोत व्यक्तिका रुपमा अन्तर्राष्ट्रिय खगोल विज्ञान संघ (International Astronomical Union) का अध्यक्ष एवम् यूरोपियन साउथर्न अब्जरभेटरीका निर्देशक Prof. Dr. Catherine J. Cesarsky उपस्थित हुनुभएको थियो। अन्य श्रोत व्यक्तिहरूमा जर्मनीकी Prof. Dr. Michele Gerbaldi , भियतनामबाट Prof. Dr. Pierre Darriulat , अमेरिकाबाट Prof. Dr. Edward Guinan, नेपालका Prof. Dr. Uday Raj Khanal तथा Prof. Dr. Mukunda Mani Aryal रहनुभएको थियो। उक्त स्कुलका मुख्य विषयहरू Infra-red Astronomy, Stellar Evolution, Galaxies, Astroparticles, Exo-planets, Neutrino Cosmology and Structure formation, Early Universe and Particle रहेका थिए। सो अन्तर्राष्ट्रिय स्तरको स्कुलको समुद्घाटन समारोहका प्रमुख अतिथि राष्ट्रिय योजना आयोगका माननीय उपाध्यक्ष श्री जगदीश चन्द्र पोखरेलज्यू रहनुभएको थियो। वहाँले मन्तव्य दिने क्रममा नेपाल आफ्नो भौगोलिक अवस्थाले गर्दा खगोल विज्ञानको अध्ययनको निमित्त विश्वमा उत्कृष्ट स्थलहरूमध्ये पर्ने भएकोले अन्तर्राष्ट्रिय समुदायलाई नै यस क्षेत्रमा आकृष्ट गर्न सकिने कुरा व्यक्त गर्नुभएको थियो। साथै वहाँले अन्तर्राष्ट्रिय खगोल विज्ञान संघ (International Astronomical Union) को अध्यक्ष स्वयम् यहाँ उपस्थित रहेकोले नेपालले यस क्षेत्रको विकासमा अन्तर्राष्ट्रिय सहयोग प्राप्त हुने कुरामा विश्वास व्यक्त गर्नुभएको थियो।