
माघ १, २०६६।वी.पी. कोईराला मेमोरियल प्लानेटेरियम तथा अब्जरभेटरी र विज्ञान सङ्ग्रहालय विकास समितिले शताब्दिकै लामो खण्डग्रास सूर्य ग्रहणलाई रामशाहपथ स्थित पद्मोदय उच्च माध्यमिक विद्यालय परिसरको खुल्ला मैदानबाट प्रत्यक्ष रुपमा विशेष उपकरणको प्रयोग गरी प्रक्षेपण तथा टेलिभिजनबाट प्रत्यक्ष प्रसारण गरेर जनमानसमा सूर्य ग्रहण सम्बन्धी जानकारी प्रवाह गरेको थियो। उक्त सूर्य ग्रहण नेपाली समय अनुसार दिउँसो करिब १२ बजेर १५ मिनेटमा नेपालको पश्चिम भाग महेन्द्रनगर नजिकबाट प्रारम्भ भएर पूर्वतिर सरेर अन्त्यमा चन्द्रगढीको सामिप्यमा साँझ करिब ३ बजेर ४३ मिनेटमा अन्त्य भएको थियो। नेपालमा ३ घण्टा १६ मिनेटको अवधिसम्म दृष्टिगत भएको सूर्य ग्रहणको अधिकतम ग्रहण समय २ बजेर १० मिनेटमा थियो। काठमाडौँबाट हेर्दा सूर्यको ९७.७ प्रतिशत भाग ढाकिएको थियो। विशेषज्ञहरूका रुपमा प्रा.डा. उदयराज खनाल, भौतिकशास्त्र केन्द्रीय विभाग, त्रि.वि.; डा. सनत कुमार शर्मा, सह-कार्यकारी निर्देशक, वी.पी. कोईराला मेमोरियल प्लानेटेरियम तथा अब्जरभेटरी र विज्ञान सङ्ग्रहालय विकास समिति; र श्री सरोज राज शाही, बेधशाला व्यवस्थापक, वी.पी. कोईराला मेमोरियल प्लानेटेरियम तथा अब्जरभेटरी र विज्ञान सङ्ग्रहालय विकास समिति; रहनु भएका थिए। उक्त कार्यक्रममा विभिन्न संचारमाध्यमहरूको पनि उपस्थिति रहेको थियो साथै यस समितिद्वारा तयार पारिएको विशेष उपकरणको सहयोगबाट एभिन्यूज टेलिभिजनले उक्त सूर्य ग्रहणको प्रत्यक्ष प्रसारण समेत गरेको थियो। सो कार्यक्रममा ग्रहणको अवलोकनका लागि सर्वसाधारणको उल्लेख्य सङ्ख्यामा उपस्थिति रहेको थियो।