
पुष १०, २०७६।वी.पी. कोईराला मेमोरियल प्लानेटेरियम तथा अब्जरभेटरी र विज्ञान सङ्ग्रहालय विकास समितिले खण्डग्रास सूर्य ग्रहणलाई किर्तिपुर स्थित वी.पी. कोईराला मेमोरियल प्लानेटेरियम तथा अब्जरभेटरी र विज्ञान सङ्ग्रहालय विकास समिति भवन परिसरबाट प्रत्यक्ष रुपमा विशेष उपकरणको प्रयोग गरी प्रक्षेपण तथा टेलिभिजनबाट प्रत्यक्ष प्रसारण गरेर जनमानसमा सूर्य ग्रहण सम्बन्धी जानकारी प्रवाह गरेको थियो। उक्त सूर्य ग्रहण नेपाली समय अनुसार बिहान करिब ८ बजेर ४२ मिनेटमा प्रारम्भ भएर दिउँसो करिब ११ बजेर ३१ मिनेटमा अन्त्य भएको थियो। उक्त सूर्य ग्रहणको अधिकतम ग्रहण समय १० बजेर १ मिनेटमा रहेको थियो। सो अवसरमा माननीय शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणि पोखरेलज्यूको समुपस्थिति रहेको थियो। नेपालमा प्रथम पटक सूर्य ग्रहणमा माननीय शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रीज्यूको समुपस्थिति भएर जनमानसमा व्याप्त सूर्य ग्रहणलाई अवलोकन गर्नुहुन्न भन्ने भ्रान्तिलाई तोड्दै जनमानसबाट हटाएर सूर्य ग्रहण एउटा साधारण खगोलीय घटना हो र यसले मानवमा कुनै पनि प्रभाव पार्ने वैज्ञानिक आधारहरू हाल सम्म पनि प्राप्त नभएकोले सूर्य ग्रहणलाई अवलोकन गर्न सकिने सन्देश दिन सफल हुनुभयो। सो अवसरमा कान्तिपुर, इमेज लगायत अन्य टेलिभिजनहरूले उक्त सूर्य ग्रहणको प्रत्यक्ष प्रसारण गरेका थिए । डा. सनत कुमार शर्माले पत्रकारहरू तथा जनमानसलाई ग्रहणको विषयमा जानकारी गराउनु भएको थियो।