हाम्रो बारे

परिचय

अन्तरिक्ष विज्ञान नै एउटा राष्ट्रको समग्र विकासको परिसूचक एवम् राष्ट्रिय गौरवको आधार भएकोले यस क्षेत्रको विकासले एउटा राष्ट्रको समृद्धिलाई प्रतिविम्वित गर्दछ भने यस क्षेत्रको अविकसित अवस्थाले राष्ट्रको पछौटेपनलाई दर्शाउदछ । तसर्थ आज सम्पूर्ण विश्व नै अन्तरिक्ष अन्वेषण र अध्ययन अनुसन्धानमा अहोरात्र संलग्न छ । मानव चन्द्र विजय पश्चात् मङ्गलग्रहमा आफ्नो उपनिवेश स्थापना गर्नमा अग्रसर भै सकेको छ भने टेराफार्मिङ (अन्यग्रह-उपग्रहलाई पृथ्वी समान बनाउनु) र अन्तरिक्ष पर्यटन जस्ता कुराहरू विज्ञानकथामा मात्र सीमित नरहेर वास्तविकतामा परिणत भैसकेका छन् । यस्तो परिस्थितिमा नेपालमा एकमात्र अन्तरिक्ष विज्ञानको अध्ययन अनुसन्धान तथा विकास एवम् जनमानसमा वैज्ञानिक चेतना तथा संस्कार प्रवाह गर्ने कार्यमा संलग्न यस संस्थाको अत्यधिक महत्व रहेको छ । वी.पी. कोइराला मेमोरियल प्लानेटेरियम तथा अब्जरभेटरी र विज्ञान सङ्ग्रहालय विकास समितिले यस क्षेत्रको विकासको लागि आवश्यक पूर्वाधारहरू समेत श्रृजना गरी यस क्षेत्रमा निरन्तर रूपमा कार्य गरी रहेको छ । यसै सन्दर्भमा नगरकोटमा राष्ट्रिय बेधशालाको स्थापना गरी अध्ययन अनुसन्धानको कार्यलाई निरन्तरता दिनुका साथै भौतिकशास्त्र स्नातकोत्तर तहमा अध्ययनरत विद्यार्थीहरूले निरन्तर रूपमा अनुसन्धनात्मक कार्यहरू गर्दै आईरहेका छन् । साथै प्रतिवर्ष देशका कुनाकाप्चाहरूबाट समेत समय समयमा विद्यार्थीहरूलाई आमन्त्रण गरी अध्ययन अनुसन्धान गराउने गरिएको छ। यसका साथै उक्त अब्जरभेटरीमा नासा, युरोपियन यूनियन, इन्टरनेशनल एस्ट्रोनोमिकल यूनियन समेतका वैज्ञानिकहरू आएर अध्ययन अनुसन्धान गर्ने गरेका छन् । साथै यस समितिले जनमानसमा वैज्ञानिक चेतना तथा संस्कारको प्रादुर्भाव गर्नका लागि नेपाल जस्तो रूढीवादीबाट आक्रान्त समाजलाई विज्ञान तथा प्रविधिको सार्थक ज्ञानको प्रवाह गरी रूढीवादबाट मुक्त गरेर वैज्ञानिक चेतना तथा वैज्ञानिक सोचमा आधारित समाजको निर्माण गर्नका लागि अहम् भूमिका निर्वाह गर्दै आएको छ। यसै परिप्रेक्ष्यमा विज्ञान सङ्ग्रहालय सर्वसाधारणका लागि खुल्ला गरिसकिएको छ। त्यसै गरि स्पेस थिएटरको निर्माण कार्यको प्रारम्भ अन्तिम चरणमा पुगिसकेको छ।

विश्वमा अन्तरिक्ष विजयको महा–अभियानको प्रारम्भ सँगै चन्द्रमा तथा अन्य आकाशीय पिण्डहरू लगायत अन्तरिक्षको अन्वेषण तथा शान्तिपूर्ण प्रयोग सम्बन्धी सन्धि-सम्झौतामा नेपाल १६ अक्टोवर १९६७ मा पक्ष राष्ट्र रहन गएको सन्दर्भमा नेपालमा प्लानेटेरियम, बेधशाला तथा विज्ञान सङ्ग्रहालयको स्थापना, सञ्चालन तथा विकास गरी जनमानसमा वैज्ञानिक चेतना तथा संस्कारमा अभिबृद्धि गर्न, खगोल विज्ञान, खगोल भौतिक विज्ञान, अन्तरिक्ष विज्ञान तथा ज्योर्ति विज्ञानमा अध्ययन अनुसन्धान गर्न, विज्ञान तथा प्रविधिको सार्थक ज्ञानलाई जनमानसमा प्रवाहित गर्न विकास समिति ऐन, २०१३ बमोजिम वी.पी. कोईराला मेमोरियल प्लानेटेरियम तथा अब्जरेभटरी र विज्ञान सङ्ग्रहालय विकास समितिको स्थापना भएको हो ।

सोचः

  • राष्ट्रमा अन्तरिक्ष विज्ञान तथा प्रविधिको शान्तिपूर्ण अन्वेषण एवम् उपयोगका लागि सशक्त पूर्वाधार  खडा गरी राष्ट्र विकासको एक अभिन्न क्षेत्रको रूपमा विकास गर्ने ।
  • जनमानसमा वैज्ञानिक चेतना तथा संस्कारको प्रादुर्भाव गर्ने ।
  • विद्यार्थीहरूमा अनौपचारिक शिक्षाको माध्यमबाट विज्ञान प्रति अभिरूचि जगाई विज्ञानको अध्ययन  अनुसन्धानमा कार्य गर्ने प्रेरणा दिने ।
  • अनौपचारिक शिक्षाको माध्यमबाट विद्यार्थीहरूमा विज्ञानका कठिन तथा दुरूह समिकरणहरू तथा सिद्धान्तहरूलाई सहजरूपमा बुझ्न सक्ने बनाई “साइन्स क्याडर” को निर्माण गर्न र विद्यार्थीहरूलाई विज्ञानको अध्ययन अनुसन्धान गर्नमा अभिप्रेरणा दिने ।

उद्देश्य :

  • बेधशालाको अध्ययन अनुसन्धानबाट समकालिन विश्वमा अन्तरिक्ष विज्ञान तथा प्रविधिमा भएका ज्ञान एवम् प्रविधिलाई आत्मसाथ गर्दै अन्तरिक्ष तथा आकाशीय पिण्डहरूको अध्ययन अनुसन्धान गर्ने ।
  • स्नातकोत्तर तहमा खगोल तथा अन्तरिक्ष विज्ञानमा अध्ययनरत् विद्यार्थीहरूका लागि अनुसन्धान गर्ने कार्यमा निरन्तर पहुँच सुनिश्चित गरी उच्चस्तरीय शिक्षामा खगोल विज्ञान तथा अन्तरिक्ष विज्ञानको क्षेत्रमा गुणस्तरीय जनशक्ति तयार गर्नमा सहयोग पुर्याउने
  • सर्वसाधरण तथा यस क्षेत्रमा कार्यरत व्यक्तिलाई आकाशिय मानचित्र तथा ग्रहताराहरू तथा आकाशिय पिण्डहरूको विषयमा जानकारी गराउने ।
  • “गर र सिकको” सिद्धान्त अनुरूप विद्यार्थीहरूको लागि विज्ञान सङ्ग्रहालय मार्फत विज्ञानका कठीन एवम् दुरूह सिद्धान्त तथा समिकरणहरूलाई सरल र सहज रूपमा बुझाएर विज्ञानको क्षेत्रमा गुणस्तरीय जनशक्ति तयार गर्नमा सहयोग पुर्याउने
  • राष्ट्रमा “साइन्स क्याडर” निर्माण गर्नमा सहयोग पुर्याउने
  • जनमानसमा वैज्ञानिक चेतना तथा संस्कारको प्रादुर्भाव गर्ने ।
  • विज्ञान सङ्ग्रहालयलाई पूर्ण क्षमतामा सञ्चालन तथा प्लानेटेरियमको स्थापनाबाट यस संस्थालाई स्वावलम्वन मात्र नबनाई राजश्व सङ्कलनमा समेत उल्लेख्य योगदान पुर्याउने
  • नेपाल अप्टीकल बेधशालाको लागि विश्वमा नै एक उत्कृष्ठ स्थल भएकोले उच्चस्तरीय अप्टीकल बेधशालाको स्थापना गरी यस क्षेत्रको अध्ययन अनुसन्धानमा विश्वमा नै अग्रयायी हुने ।

हाम्रो परिचय भिडियो

यो त्रिभुवन विश्वविद्यालयको परिधिमा नेपालको किर्तिपुर, काठमाडौं, नेपालमा रहेको राष्ट्रिय स्तरमा नेपालको पहिलो र एक मात्र विज्ञान संग्रहालय हो।

YOUTUBE मा जानुहोस्